Tuesday, November 3, 2015

साउदीमा नयाँ श्रम निती लागु , नेपाली कामदारलाई पनि फाईदा हुने ।

साउदी अरब, कार्तिक १७ गते ।  
साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजना अन्तर्गत तलब सम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।

साउदी अरबको श्रम मन्त्रालयले  ३ हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै  ४ लाख ५  हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो ।

यो योजना सार्वजनिक गरिएसँगै साउदी अरबमा रोजगारीका लागि आएका झण्डै ६ लाख नेपाली कामदार लाभान्वित हुने आशा गरिएको छ । तलब पाउन नसकेका र सम्झौता अवधि सकिएर पनि स्वदेश फर्किन नपाएका नेपाली कामदारका लागि यो व्यवस्थाले राहत पुग्ने विश्वास लिइएको छ ।

निजी कम्पनीमा कार्यरत कामदारले निश्चित समयमै तलब पाउने गरी ल्याइएको यो व्यवस्था लागू गर्न सरकार प्रतिबद्ध रहेको साउदीका श्रम निरीक्षण तथा वातावरण विकास मन्त्री अब्दुल्लाह अबुले बताउनुभयो ।

सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार सबै निजी कम्पनीले आफ्ना कामदारलाई समयमै तलव भुक्तान गर्नुपर्ने अरब न्यूजमा प्रकाशित समाचारमा उल्लेख गरीएको छ । यो व्यवस्थाले रोजगारदाता कम्पनी र कामदारका बीचमा देखिएको समस्या समाधान गर्ने विश्वास लिइएको छ ।

यो व्यवस्थाको उल्लङ्घन गर्ने कम्पनीलाई प्रतिकामदारका आधारमा ३ हजार साउदी रियाल जरिवाना गरिने बताइएको छ । नयाँ नियम अनुसार कामदारलाई निरन्तर  महिनासम्म तलबभत्ता उपलब्ध नगराएको खण्डमा कम्पनी बन्दसमेत गरिनेछ र उक्त कम्पनीमा कार्यरत कामदारले स्वतः अन्य कम्पनीमा काम गर्न पाउनेछन् ।

यो व्यवस्था २ महिनापछि सबै निजी कम्पनीमा लागू हुने भएकाले आफ्नो कम्पनीमा कार्यरत कामदारको विवरण पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

No comments:

Post a Comment